अमेरिकी सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश रुथ बाडरको निधन

एजेन्सी : अमेरिकी सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश रुथ बाडर गिन्सबर्गको निधन भएको छ । गिन्सबर्गको क्यान्सरका कारण ८७ वर्षको उमेरमा वासिङ्गटन डिसीस्थित घरमा निधन भएको हो ।

क्यान्सर उपचार गरेर निको भएकी उनमा यो वर्ष पुनः क्यान्सर देखिएपछि किमोथेरापी गरिँदै आएको थियो । न्यायाधीश रुथ बाडर गिन्सबर्गले सन् १९९३ देखि सर्वोच्चको न्यायाधीशका रुपमा काम गर्दै आएकी थिइन् ।

गिन्सबर्गको निधनसँगै सर्बोच्च अदालतका नौ मध्ये एउटा पद खाली भएको छ । सो ठाँउमा राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ न्यायाधीश नियुक्त गर्न पाउने भएका छन् । राष्ट्रपतिले प्रस्ताव गरेका व्यक्तिलाई संसदले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।

संसदको माथिल्लो सदन सिनेटमा रिपब्लिकन पार्टीको बहुमत छ । गिन्सबर्ग लिबरल न्यायाधीश भएकाले उनको ठाँउ कन्जरभेटिभ न्यायाधीशले लिने अनुमान गरिएको छ । उनको निधनसँग नयाँ न्यायाधीश को हुने भन्ने राजनीतिक संघर्ष शुरु भएको छ ।

राष्ट्रपति ट्रम्पले यसअघि सर्वोच्चमा दुई न्यायाधीश नियुक्त गरेका छन् । सर्वोच्चका आठ मध्ये अहिले पाँचजना कन्जरभेटिभ न्यायाधीश छन् । ट्रम्पले नै नयाँ न्यायाधीश नियुक्त गर्न पाएमा सर्वोच्चमा लिबरल थप कमजोर बन्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया

Techie