अमेरिका-तालिवान शान्ति सम्झौता कार्यान्वयन चुनौतिपूर्ण, अफगानिस्तानद्वारा बन्दी रिहा गर्न अस्वीकार

एजेन्सी : अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले तालिबान बन्दीहरूलाई मुक्त गर्ने प्रतिबद्धता आफ्नो सरकारले व्यक्त नगरेको बताएका छन् । उनले अमेरिका र तालिबान लडाकुहरूबीच भएको सम्झौतामा उल्लेख गरिएको जस्तो तालिबान बन्दीहरूलाई मुक्त गर्ने प्रतिबद्धता आफ्नो देशले नगरेको बताएका हुन् ।

शनिवार कतारमा भएको सम्झौतामा मार्च दशसम्ममा एक हजार सरकारी बन्दीहरूसँग पाँच हजार तालिबानी साटिने उल्लेख भएपछि घानीले त्यसलाई अस्वीकार गरेका हुन् । उनले बन्दी मुक्त गर्ने यस्तो कुरा वार्ताका लागि सर्त हुन नसक्ने तर सम्झौताको अंश हुन सक्ने समेत स्पष्ट पारेका छन् ।

हजारौं तालिबानी विद्रोही बन्दीहरुलाई रिहा गर्ने निर्णय अफगान सरकारलाई अस्वीकार्य रहेको पनि घानीले स्पष्ट पारेका छन् । कुनै पनि बन्दी मुक्त गर्ने कुरा अमेरिकाको अधिकार क्षेत्रमा नपर्ने उनको भनाइ छ । घानीले सम्झौताका शर्तहरु निकै विवादस्पद रहेको पनि उल्लेख गरेका छन् ।

अमेरिका तालिबान सम्झौतामा अमेरिकी सैनिकको चरणबद्ध फिर्ता गर्ने विषय पनि उल्लेख गरिएको छ । अहिले अफगानिस्तानमा १२ हजार अमेरिकी सेना छन् ।

बदलामा तालिवान समूहले अफगान सरकारसँग शान्ति वार्ता गर्न सहमति जनाएको छ । तालिबानले उसको नियन्त्रण भएको क्षेत्रमा अल कायदा र अरू उग्रवादी समूहहरूलाई काम गर्न नदिने सहमति गरेको छ ।

तपाईको प्रतिक्रिया

Techie