अब देशमा कुन प्रशासन हुनेछ भनेर भविष्यले नै बताउँछ : ट्रम्प

एजेन्सी : चुनावको नतिजा स्वीकार नगरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो प्रशासन आफ्नो नहुने आशयको वक्तव्य भने सार्वजनिक रुपमा दिएका छन् । राष्ट्रपति चुनावमा पराजयपछि पहिलो पटक ह्वाइट हाउसमा पहिलो पटक सार्वजनिक रुपमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

सम्बोधनका क्रममा उनले अब देशमा कुन प्रशासन हुनेछ भनेर भविष्यले नै बताउने प्रतिक्रिया दिएका हुन् । आफ्नो प्रशासनले कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन नगर्ने तर भविष्यमा कसको प्रशासन हुन्छ भन्ने निश्चित नभएको प्रतिक्रिया उनले दिएका हुन् ।

ट्रम्पले आउँदो प्रशासन आफ्नो नहुने आशयको वक्तव्य दिएका हुन्, जुन उनले नोभेम्बर ३ यता लगाइरहेका आरोपहरु भन्दा विपरित थियो । ट्रम्पले लगातार प्रमाण बिना चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप सामाजिक सञ्जाल मार्फत लगाउँदै आएका छन् ।

ट्रम्पले विगतमा जस्तो कोरोना भाइरस सम्बन्धी ब्रिफिङको क्रममा पत्रकारहरुका प्रश्नको जवाफ दिएनन् । कोरोना भाइरसको महामारीविरुद्धको कार्यक्रम ‘अपरेशन र्‍याप स्पीड’ सफल भएको र चाँडै खोप वितरण हुने ट्रम्पले बताए ।

डिसेम्बरदेखि देशभरका जोखिममा रहेका दशौँलाख नागरिकलाई खोप उपलब्ध हुने उनको भनाइ थियो । तर न्यूयोर्क राज्यमा भने खोप उपलब्ध नहुने उनले बताए । त्यहाका मेयरले खोपको सुरक्षालाई लिएर शंका व्यक्त गरेकाले उपलब्ध नगराउने ट्रम्पले बताएका हुन् ।

तपाईको प्रतिक्रिया

Techie