अलमलमा कुलमान, आजबाट कार्यकाल सकियो

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा कुलमान घिसिङको कार्यकाल आज सकिएको छ । उनले चार वर्ष पहिले भदौ उतान्तिस गते कार्यकारी निर्देशकको रूपमा नियुक्ति पाएका थिए । सरकारले कार्यकारी निर्देशक नियुक्ति सम्बन्धी निर्णय समयमा नगर्दा घिसिङले निरन्तरता पाउने या नपाउने विषयमा सर्वत्र चासो रहेको छ । विद्युत प्राधिकरणमा नीतिगत सुधार गरेका कारण उनको निक्कै चर्चा हुने गरेको छ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको कार्यकाल चार वर्ष हुन्छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई फेरि नियुक्त गर्ने प्रस्ताव मन्त्रीपरिषद बैठकमा पेश गर्ने तयारी छ । आगामी मन्त्रीपरिषद बैठकमा सो प्रस्ताव पेश हुने बताइएको छ । प्रधानमन्त्रीको व्यस्तताले पछिल्लो समय मन्त्रिपरिषद्को बैठक बस्न सकेको छैन । कार्यकाल सकिनुअघि आइतबार घिसिङले उर्जामन्त्री बर्षमान पुनसँग मन्त्रालयमा भेट गरेका छन । महत्वपुर्ण राजनीतिक नियुक्ती पार्टीको सहमतिमा गर्ने नेकपाले निर्णय गरेकाले कुलमानको निरन्तरताको निर्णय पनि प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीचको सहमतिमा टुंगिने बताइएको छ । कुलमानले आफ्नो कार्यकालमा नेपाललाई लोडसेडिङमुक्त र विद्युत प्राधिकरणलाई नाफामा लैजान उल्लेखनीय भुमिका निर्वाह गरेका थिए ।

तपाईको प्रतिक्रिया

Techie