अधिवेशनमा सरकारले पर्याप्त बिजनेश नदिने राष्ट्रिय सभा सदस्यहरुको आशंका

काठमाडौ । राष्ट्रिय सभा सदस्यहरुले प्रतिनिधि सभा नभएको अवस्थामा आफुहरुको भूमिका सशक्त पार्ने बताएका छन् । प्रतिनिधि सभा भंग भएपछि सुरु भएको बैठकमा सहभागी सदस्यहरुले अधिवेशनमा सरकारले पर्याप्त बिजनेश नदिने आशंका समेत सदस्यहरुको छ ।
राष्ट्रिय सभाको सातौँ अधिवेशन पौष १७ गतेदेखि शुरु भएको हो । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पौष ५ गते प्रतिनिधि सभाको विघटन गरेसँगै यस राष्ट्रिय सभा अधिवेशनलाई विशेष चासोसाथ हेरिएको छ । यस्तो अवस्थामा नीति निर्माण गर्ने काम र संकटपूर्ण अवस्थालाई निकास दिई संकटबाट बचाउन भूमिका खेल्ने सांसदहरुको भनाइ छ । प्रतिनिधि सभाले पास गरिसकेका र राष्ट्रिय सभाले पास गर्न बाँकी विधेयकहरु पास गरिने सांसदहरुको भनाइ छ ।
सरकारले आवश्यक ठानेका कामको सन्दर्भमा त्यसको जिम्मेवारी राष्ट्रिय सभाले बहन गर्ने भएकाले राष्ट्रिय सभाको भूमिका महत्वपूर्ण रहेको सांसदहरुको भनाइ छ । जनताको बिचमा सम्बन्धित दलको धारणा लिएर जाने, जनतालाई संगठित गर्नुका साथै जनताको सरोकारका विषय सम्बन्धित मन्त्रालयमा पु¥याउने भूमिका समेत सदस्यवाट अपेक्षा गरिएको छ ।
विधेयकको काम नहुने भएकाले अधिवेशन लामो समय जान नसक्ने चिन्ता सदस्यहरुमा छ । यद्यपी समितिमार्फत हुने कामहरु हुने उनीहरुको अपेक्षा छ । सरकारलाई खबरदारी गर्ने, जनताको आवाज सरकारलाई सुनाउने र घच्घचाउने भूमिकासाथ राष्ट्रिय सभामा प्रस्तुत हुने तयारीमा सदस्यहरु छन ।
कोरोना भाइरस संक्रमणको विषय, विभिन्न आयोगको प्रतिवेदन लगायत राष्ट्रिय सभाको बिजनेश हुनुपर्ने सांसदहरुको भनाइ छ । प्रतिनिधि सभा नभएको अवस्थामा जनताका जल्दाबल्दा सवालमा राष्ट्रिय सभामा छलफल हुनुपर्ने तथा जनतालाई जनप्रतिनिधिमुलक संस्था छ भन्ने अनुभुति दिलाउन राष्ट्रिय सभा बैठकको निरन्तरता आवश्यककता सांसदहरुले औल्याएका छन ।
प्रतिनिधि सभा विघटन भएका कारण राष्ट्रिय सभाको यस अधिवेशनमा धेरै विधेयकहरुमाथि छलफल हुने छैन । यद्यपी सदस्यहरुले भने जनजिविकाको सवालमा तथा राष्ट्रिय राजनीतिमा देखा परेका जटिलताको सवालमा राष्ट्रिय सभाले महत्वपूर्ण तथा सशक्त भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया

Techie