अग्रवालको थुनछेक बहस आज पनि जारी, आजै फैसला आउने सम्भावना

काठमाडौं : कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका सुलभ अग्रवालको थुनछेक बहस आज पनि जारी छ । काठमाडौं जिल्ला अदालत बबरमहलमा अग्रवाल बिरुद्ध दर्ता भएको मुद्दामा थुनछेक बहस भइरहेको हो ।

अग्रवालका तर्फवाट आज दुईजना वकिलले बहस गरिरहेका छन् । बुधबार सरकारको तर्फबाट एक जना र अग्रवालका तर्फबाट ४ जनाको बहस गरेका थिए । बहस सकिएपछि अग्रवाल धरौटीमा रिहा हुने या कारागार चलान गर्ने भन्ने टुंगो अदालतले गर्नेछ ।

सरकारी वकिलको कार्यालयले कालोबजारी तथा माल–वस्तुको अनुचित सञ्चय गरेको आरोप लागेका व्यापारी सुलभ अग्रवालविरुद्ध मंगलबार मुद्दा दायर गरेको थियो । कार्यालयले अग्रवाललाई डेढ वर्ष कैद गरी १५ लाख रुपियाँ जरिवाना गर्न माग गरेको छ ।

उनलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार कालोबजारी गरेका, कृत्रिम अभाव सिर्जना गरेको र २० प्रतिशतभन्दा बढी मुनाफा लिएर बेचबिखन गरेको गरी तीनवटा कसुर लगाइएको छ । ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गरेको आरोपमा अग्रवाललाई गत चैत २५ गते ६७ थान थर्मल गनसहित प्रहरीले रंगेहात पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया

Techie